
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको बिल तिर्न डिजिटल भुक्तानीको प्रयोग अझ बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
हेटौँडामा विद्युत कार्यालयका प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले अझै पनि नागरिकहरू बिल तिर्न घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। डिजिटल भुक्तानी बढाउँदा ग्राहकको समय बचत हुने र विद्युत कार्यालयको खर्च तथा जनशक्ति व्यवस्थापनमा पनि सहयोग पुग्ने उनको भनाइ छ।
उनले डिजिटल भुक्तानी बढाउने योजना प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भइसकेकाले त्यसलाई प्रभावकारी रूपमा लागू गर्न र जनचेतना फैलाउन निर्देशन दिए। डिजिटल भुक्तानीको प्रयोग बढे पनि पछिल्लो वर्ष वृद्धि एक प्रतिशतभन्दा कम रहेको भन्दै उनले असन्तुष्टि जनाए।
मन्त्री श्रेष्ठले विद्युत ट्रिपिङ हुँदा ग्राहकलाई छिटो जानकारी र सेवा दिन, विद्युत चुहावट नियन्त्रण गर्न तथा पोल र अन्य संरचनाको नियमित मर्मत र गस्ती गर्न पनि निर्देशन दिए। उनले विद्युत कार्यालयमा सुशासन र राम्रो सेवा प्रवाहलाई प्राथमिकता दिन आग्रह गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे