
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न लाग्ने मनोनयन दस्तुर सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिले आइतबार सूचना जारी गर्दै पदअनुसारको उम्मेदवारी दस्तुर र आवश्यक कागजातबारे जानकारी गराएको हो।
निर्वाचन समितिका अनुसार केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ। यस्तै, उपसभापति र महामन्त्री पदका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
उम्मेदवारले मनोनयन दस्तुर नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकमा रहेको खाता नम्बर ११३००७२६४३६०००२९ मा जम्मा गर्नुपर्नेछ। रकम जम्मा गरेपछि प्राप्त बैंक भौचर मनोनयनपत्रसँग अनिवार्य रूपमा संलग्न गर्नुपर्ने समितिले जनाएको छ।
मनोनयनपत्रसँग निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्वाचन निर्देशिकाले तोकेबमोजिमको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएको प्रमाणपत्रसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, उम्मेदवारी दर्ता वारेसमार्फत गराउँदा वारेसनामा र वारेसको नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्नेछ। विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्ने उम्मेदवारले भने नेपाली नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता तथा मतदानसम्बन्धी कार्यतालिकासमेत सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी दर्ता र असोज २२ गते मतदान गर्ने तयारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे