
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार असोज २० गते उम्मेदवारी दर्ता हुनेछ भने असोज २२ गते मतदान हुनेछ।
असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली सार्वजनिक गरिनेछ। त्यसपछि दाबी–विरोधका लागि समय दिइनेछ र सोही दिन राति अन्तिम मतदाता सूची प्रकाशन हुनेछ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। उम्मेदवारको पहिलो र दोस्रो सूची सोही दिन सार्वजनिक हुनेछ। असोज २१ गते उम्मेदवारी फिर्ता वा सच्याउन सकिनेछ र त्यसपछि अन्तिम उम्मेदवार सूची प्रकाशन हुनेछ। सो दिन उम्मेदवारले प्रचार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७:३० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ। मतदान सकिएपछि मतगणना सुरु गरी परिणाम सार्वजनिक गरिनेछ।
मतदानका लागि राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवन गरी तीन केन्द्र तोकिएका छन्। विभिन्न प्रदेश र समूहका मतदातालाई छुट्टाछुट्टै केन्द्रमा मतदान गर्ने व्यवस्था गरिएको छ।
सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार, सहमहामन्त्रीको २० हजार तथा केन्द्रीय सदस्यको ११ हजार रुपैयाँ तोकिएको छ। उम्मेदवारले आवश्यक प्रस्तावक, समर्थक र कागजात पनि बुझाउनुपर्नेछ।
प्रचारका क्रममा टोपी, टी–सर्ट, ज्याकेटलगायत प्रचार सामग्री प्रयोग गर्न रोक लगाइएको छ। पर्चा र पम्प्लेट भने वितरण गर्न पाइनेछ, तर मतदानस्थल आसपास राख्न पाइने छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे