
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र नुवाकोट भएर बहने भोटेकोशी तथा त्रिशूली नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। प्राधिकरणले आज (भदौ १८ गते) जारी गरेको सूचनामार्फत सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।
प्राधिकरणका अनुसार रसुवा र नुवाकोट जिल्लाबाट बहने भोटेकोशी, त्रिशूली तथा आसपासका स–साना नदीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। ती नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बस्ती र नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैगरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पनि बहाव बढ्ने प्रक्षेपण गरिएको छ।
ती जिल्लामा स–साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको प्राधिकरणले जनाएको छ। विशेषगरी लगातार वर्षा भइरहेका तथा नदीको जलस्तर बढ्न सक्ने क्षेत्रमा स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नजान आग्रह गरिएको छ।
प्राधिकरणले मौसम तथा नदीको बहावमा हुने परिवर्तनबारे नियमित सूचना लिन, नदी तथा खोलाको किनारमा नजान र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको उद्धार अनुरोध प्रणालीमार्फत उक्त सूचना सार्वजनिक गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे