
काठमाडौं । ब्रोकर कम्पनीहरूको सर्भर रहेको डेटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ।
नेप्सेमा कारोबार गर्ने ७२ वटा स्टक ब्रोकर कम्पनीको सर्भर रहेको डेटा सेन्टरमा समस्या देखिएपछि कारोबार सञ्चालन गर्दा समग्र कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएको भन्दै बजार स्थगित गरिएको हो।
नेप्सेका अनुसार ब्रोकर कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालिमा असोज ४ गते बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि सम्बन्धित पक्षबाट पहल भइरहेको भए पनि हालसम्म पूर्णरूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।
डेटा सेन्टरको समस्या कायमै रहेको अवस्थामा नियमित कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार सञ्चालन नगर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ। बजारको प्राविधिक प्रणालीमा थप जोखिम उत्पन्न हुन नदिन सावधानीस्वरूप कारोबार स्थगित गरिएको हो।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि डेटा सेन्टरको समस्या तत्काल समाधान हुन नसकेको भन्दै नेप्सेलाई कारोबार स्थगित गर्न आग्रह गरेको थियो। समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम रहेको उल्लेख गर्दै एसोसिएसनले कारोबार स्थगनका लागि निवेदन दिएको थियो।
नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१०) बमोजिम आज अर्थात् २०८३ असोज ५ गतेको नियमित सेयर कारोबार स्थगित गरिएको जनाएको छ।
समस्या समाधान भएपछि बजार सञ्चालनको अवस्थाबारे आवश्यक निर्णय गरिने नेप्सेले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे