
काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज राजीनामा दिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन्। यसअघि पार्टी नेतृत्वले दुई पटकसम्म राजीनामा रोक्दै आएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारबारे भएको छलफलपछि यो निर्णय भएको हो।
हाल सरकारमा रहेका एमालेका सबै मन्त्री पद छाड्दै छन्। केही दिनअघि मुख्यमन्त्री बानियाँले १४ मध्ये ६ मन्त्रालय खारेज गरेर केही मन्त्रीलाई एउटै मन्त्रालयमा थप जिम्मेवारी दिएका थिए, जसको आलोचना भएको थियो। बागमतीमा कांग्रेस–एमालेको संयुक्त सरकार करिब दुई वर्षदेखि चलिरहेको छ। अब एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे