
काठमाडौँ । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपतिक्षेत्र विकास कोषकै हुने फैसला गरेको छ। अदालतले यसअघि काठमाडौँ जिल्ला अदालतले दिएको निर्णयलाई पनि सदर गरेको हो। करिब २३ वर्षदेखि मारवाडी सेवा समितिले प्रयोग गर्दै आएको धर्मशालाको जग्गामा समितिले कुनै मोहियानी हक नपाउने अदालतले स्पष्ट पारेको छ। अदालतका अनुसार समितिले कोषसँग भएको सम्झौताअनुसार धर्मशाला सञ्चालन, गाई–बाच्छा संरक्षण र भक्तजनलाई सेवा दिनुपर्ने थियो। तर समितिले कोषको अनुमति नलिई होटल, अस्पताल र अन्य व्यावसायिक संरचना निर्माण गरी व्यापारिक काम गरेको पाइएको छ।
साथै, सम्झौताविपरीत दूध बिक्रीका लागि गाईपालन गरेको र नन्दी संरक्षणको जिम्मेवारी पनि राम्रोसँग पूरा नगरेको अदालतको ठहर छ। अदालतले सार्वजनिक सम्पत्ति निजी फाइदाका लागि प्रयोग गर्न नमिल्ने भन्दै कोषकै अधिकार कायम रहने निर्णय दिएको हो। यससँगै पशुपति गौशाला धर्मशालामाथिको कानुनी विवादमा कोषको पक्ष बलियो बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे