
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो।
मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिफारिस गरेका उत्कृष्ट तीन उम्मेदवारमध्येबाट साहलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।
अन्तिम प्रतिस्पर्धामा नागेन्द्र साहसँगै कौशल केसी र सञ्जीवकुमार देव रहेका थिए। मन्त्रिपरिषद्ले उनीहरूमध्ये साहलाई निगमको नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।
साह यसअघि पनि नेपाल आयल निगममा विभिन्न जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकारीका रूपमा परिचित छन्। उनको नियुक्तिसँगै इन्धन आपूर्ति व्यवस्थापन, बजार स्थिरता तथा निगमको संस्थागत सुधारलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
देशका विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या देखिएको र उपभोक्ता ग्यासका लागि लामो लाइनमा बस्न बाध्य भइरहेका बेला सरकारले निगमको नेतृत्वमा नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे