
काठमाडौं । भारत–नेपालबीच कानूनी तथा शैक्षिक क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने उद्देश्यले काठमाडौंस्थित भारतीय राजदूतावासले भारतीय कानूनी संस्थाहरूबाट अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीका लागि विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा भारतीय कानूनी संस्थाका पूर्वविद्यार्थीसमेत रहेका नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू, न्यायपालिकाका वरिष्ठ अधिकारी, पूर्व महान्यायाधिवक्ताहरू, कानूनी तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्व र युवा कानून व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूतले भारत–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन पूर्वविद्यार्थी सञ्जालको महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो। उहाँले कानूनी तथा शैक्षिक क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तार गर्न यस्ता सञ्जालले प्रभावकारी भूमिका निर्वाह गर्न सक्नेमा जोड दिनुभएको थियो।
सोही अवसरमा भारतीय कानूनी संस्थाहरूबाट अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीहरूको संघको समेत शुभारम्भ गरिएको छ। संघले भारतमा कानूनी शिक्षा हासिल गरेका नेपाली कानुनविद् तथा अन्य सम्बन्धित व्यक्तिलाई एउटै मञ्चमा आबद्ध गर्दै दुई देशबीच कानूनी र शैक्षिक सहकार्यलाई थप विस्तार गर्ने उद्देश्य राखेको जनाइएको छ।
संघमार्फत कानूनी शिक्षा, अनुसन्धान, अनुभव आदानप्रदान तथा व्यावसायिक सहकार्यका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ। साथै, यसले भारत र नेपालबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई कानूनी तथा शैक्षिक क्षेत्रमार्फत थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे