
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सोमबार काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङले नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने भएका हुन्।
रास्वपाका अनुसार कार्यक्रम सोमबार भदौ ८ गते साँझ ५ बजेपछि पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। कार्यक्रममा नागरिकले गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा आफ्ना समस्या तथा सुझाव राख्न सक्नेछन्।
कार्यक्रम दुई चरणमा सञ्चालन हुने रास्वपाले जनाएको छ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष प्रस्तुत गर्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक र नीतिगत विषयमा छलफल गरिनेछ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रास्वपाले जनाएको छ।
कार्यक्रममा सहभागी भई आफ्ना धारणा, समस्या तथा सुझाव राख्न रास्वपाले नागरिकलाई आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे