
काठमाडौँ। विपद् प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यमा सहयोग गर्न इच्छुक स्वदेश तथा विदेशमा रहेका नेपालीसहित स्वदेशी तथा विदेशी दाताले अब नेपाल सरकारको राहत कोषमा डिजिटल माध्यमबाट सिधै रकम योगदान गर्न सक्ने भएका छन्।
सरकारले विपद्का बेला राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो। नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध उक्त प्रणालीमार्फत दाताले अनलाइनबाटै कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ प्रणालीमा स्वदेश तथा विदेशबाट रकम योगदान गर्न सकिने गरी विभिन्न विद्युतीय भुक्तानी माध्यम समेटिएका छन्। अन्तर्राष्ट्रिय तथा घरेलु कार्डमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ भने नेपालपे क्यूआर, मोबाइल बैंकिङ, कनेक्टआईपीएस, विभिन्न डिजिटल वालेट तथा अलिपे प्लसमार्फत समेत सहयोग रकम पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ।
विपद्का समयमा राहत तथा उद्धार कार्यमा आर्थिक सहयोग गर्न चाहने व्यक्ति, संस्था तथा दाताका लागि सहज, सुरक्षित र प्रत्यक्ष माध्यम उपलब्ध गराउने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको हो। यसबाट सहयोग गर्न इच्छुकले सम्बन्धित अनलाइन पोर्टलमा प्रवेश गरी योगदान गर्न चाहेको रकम उल्लेख गरेर आफूलाई सहज हुने भुक्तानी माध्यम छनोट गर्न सक्नेछन्।
डिजिटल माध्यमबाट रकम योगदान गर्ने व्यवस्था भएपछि स्वदेश तथा विदेशमा रहेका दातालाई बैंक खाता वा अन्य परम्परागत प्रक्रियामा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै विपद् राहत कोषमा तत्काल सहयोग पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे