
काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा गत बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले अत्यावश्यक राहत सामग्री नेपाल पठाएको छ।
चीनको वायुसेनाका दुईवटा वाई–२० ठूलो क्षमताका सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। दुवै विमान करिब बिहान ७ बजे काठमाडौं आइपुगेका हुन्।
चिनियाँ पक्षका अनुसार ती दुई विमानमार्फत नेपाल पठाइएका राहत सामग्रीको संख्या १३ हजार २०० थान रहेको छ। बाढी तथा पहिरोबाट प्रभावित रसुवाका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको हो।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सडक तथा पुललगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ। बाढीका कारण प्रभावित तथा स्थलमार्गबाट पहुँच कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्याउन समस्या भइरहेका बेला चीनले हवाई माध्यमबाट सहायता उपलब्ध गराएको हो।
नेपालमा आएको विपद्पछि चीनले उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएको छ। पछिल्लो सहयोगअन्तर्गत दुईवटा वाई–२० विमानमार्फत पठाइएका सामग्री बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकताका आधारमा वितरण गरिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे