
काठमाडौं । सरकारले गम्भीर प्रकृतिका विपद्का घटनामा मृत्यु तथा बेपत्ता भएका व्यक्तिको खोजतलास, शव व्यवस्थापन, परिवारलाई राहत तथा कानुनी पहिचानसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित गर्न विद्यमान कानुनी व्यवस्थामा संशोधन गर्ने तयारी गरेको छ।
यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’को मस्यौदा तयार पारेको छ। प्रस्तावित विधेयकमा विपद्का कारण मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारसँग प्रत्यक्ष जोडिएका विषयलाई कानुनी रूपमा स्पष्ट र व्यवस्थित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकमा गम्भीर प्रकृतिको विपद्का घटनामा मृत्यु भएका व्यक्तिको शव खोजतलास, पहिचान, सुरक्षित भण्डारण तथा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ। यसले विपद्पछि शव व्यवस्थापन र परिवारलाई हस्तान्तरणका क्रममा देखिन सक्ने प्रक्रियागत अन्योललाई सम्बोधन गर्ने सरकारको तयारी छ।
त्यस्तै, विपद्मा बेपत्ता भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहतसम्बन्धी व्यवस्था पनि प्रस्तावित विधेयकमा समेटिएको छ। लामो समयसम्म खोजतलास गर्दा पनि बेपत्ता व्यक्ति फेला नपरेको अवस्थामा मृत्युको न्यायिक घोषणा गर्ने प्रक्रियालाई समेत कानुनी रूपमा व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ।
गृह मन्त्रालयले विधेयकको मस्यौदामाथि सर्वसाधारण तथा सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ। विधायन ऐन, २०८१ बमोजिम मन्त्रालयले सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति तथा सरोकारवालालाई विधेयकसम्बन्धी सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।
मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्ना सुझाव इमेलमार्फत पठाउन सकिनेछ। प्राप्त सुझावका आधारमा विधेयकको मस्यौदालाई आवश्यक परिमार्जन गरी अघि बढाउने तयारी मन्त्रालयको छ।
प्रस्तावित विधेयक पारित भएमा विपद्का कारण मृत्यु तथा बेपत्ता भएका व्यक्तिको खोजतलासदेखि शव व्यवस्थापन, परिवारलाई राहत उपलब्ध गराउने तथा लामो समयसम्म बेपत्ता व्यक्तिको कानुनी पहिचान कायम गर्ने प्रक्रियासम्मका विषयमा थप स्पष्ट कानुनी व्यवस्था हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे