
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार यस सेवामार्फत ग्राहकले शाखामा प्रत्यक्ष उपस्थित नभई डिजिटल माध्यमबाट बैंकिङ सेवासम्बन्धी जानकारी लिन, खाताबारे सोधपुछ गर्न, विभिन्न सेवा अनुरोध गर्न तथा आफ्ना गुनासा दर्ता गराउन सक्नेछन्।
ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘केएस मित्र’ आइकन, इमेल तथा ह्वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ। यसबाट बैंकका सेवा, सुविधा, शाखा तथा सम्पर्क नम्बर, ब्याजदर, सेवा शुल्कलगायतका सामान्य जानकारी सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
ग्राहकको पहिचान तथा खातासम्बन्धी विवरण प्रमाणीकरण गरेपछि खाताको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम तथा अन्य खातासम्बन्धी जानकारी लिन सकिनेछ। त्यस्तै, ऋणसम्बन्धी विवरण, डिम्याट तथा मेरो सेयर र कर्जा सूचना प्रतिवेदन (कर्जा सूचना) लगायतका सेवासम्बन्धी जानकारी प्राप्त गर्न पनि यो प्रणाली उपयोगी हुने बैंकले जनाएको छ।
‘केएस मित्र’ मार्फत ग्राहकले खाता रोक्का गर्ने, आम्दानीको स्रोत वा पेसासम्बन्धी विवरण परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने तथा मोबाइल बैंकिङ सेवा रोक्का गर्ने र त्यसको अवस्था बुझ्नेजस्ता अनुरोधसमेत गर्न सक्नेछन्।
प्रणालीमार्फत ग्राहकले खोजेको जानकारी तत्काल उपलब्ध हुन नसकेमा स्वचालित रूपमा सहायता टिकट सिर्जना हुनेछ। यसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अभिलेख राख्न, त्यसको अवस्थाबारे जानकारी लिन र समाधान प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले ‘केएस मित्र’लाई नेपाली बैंकिङ क्षेत्रमा डिजिटल ग्राहक सेवाको विकासतर्फको नवीन पहलका रूपमा लिएको छ। एआई प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर सुधार गर्ने र बैंकिङ प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट सेवा प्रवाह सहज बनाउने यो पहल ‘फ्युचर रेडी’ अवधारणासँग जोडिएको छ। साथै, विशिष्ट बचत खातामार्फत उपलब्ध गराइने डोरस्टेप बैंकिङ सेवालाई समेत डिजिटल नवप्रवर्तनसँग जोड्दै ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकता दिने रणनीति बैंकले अघि सारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे