
काठमाडौं । चिठ्ठा, जुवा, क्यासिनो तथा चन्दा सङ्कलनजस्ता गतिविधिलाई आपराधिक कार्यबाट आर्जित सम्पत्ति लुकाउने र त्यसलाई वैध देखाउने माध्यमका रूपमा प्रयोग गर्न सकिने जोखिम देखिएको छ। विशेषगरी गैरकानुनी रकमलाई दान वा चन्दाका रूपमा संस्थामा प्रवेश गराउने, चिठ्ठामा जितेको रकमको आवरणमा वैध बनाउने तथा क्यासिनोमार्फत रकमको स्रोत लुकाउने गतिविधि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका महत्त्वपूर्ण विषय हुन्।
सामाजिक तथा परोपकारी उद्देश्यले चन्दा सङ्कलन गर्ने, भाग्यका आधारमा पुरस्कार वितरण गर्न चिठ्ठा सञ्चालन गर्ने र मनोरञ्जनका लागि जुवा खेल्ने गतिविधिको प्रकृति फरक भए पनि तिनको दुरुपयोग हुन सक्ने भएकाले कानुनी नियन्त्रण, वित्तीय निगरानी र शङ्कास्पद कारोबारको पहिचान आवश्यक मानिन्छ।
सामाजिक तथा परोपकारी कार्यका लागि राज्य वा सामाजिक संस्थाले रकम सङ्कलन गर्ने उद्देश्यले सर्वसाधारणलाई भाग्यका आधारमा पुरस्कार प्राप्त गर्न सक्ने व्यवस्था गरी टिकट बिक्री गर्ने कार्यलाई चिठ्ठा भनिन्छ। चिठ्ठा सञ्चालन तथा बिक्री वितरणसम्बन्धी व्यवस्था चिठ्ठा ऐन, २०२५ र चिठ्ठा नियमावली, २०२७ मा गरिएको छ। कानुनबमोजिम आवश्यक अनुमति नलिई चिठ्ठा सञ्चालन गर्नु दण्डनीय हुन सक्छ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार कुनै संयोगका आधारमा चल वा अचल सम्पत्ति अथवा प्रतिफल जित्ने वा हार्ने गरी बाजी थापेर खेलिने गतिविधि जुवाको परिभाषाभित्र पर्छ। अरूको हारजितमा आफूले सम्पत्ति वा प्रतिफल प्राप्त गर्ने वा गुमाउने गरी बाजी थाप्ने कार्यसमेत यसमा समेटिन्छ।
त्यस्तै, मुलुकी देवानी संहिता, २०७४ ले व्यक्तिले आफ्नो हक तथा स्वामित्वमा रहेको सम्पत्ति कुनै व्यक्ति वा धार्मिक, सामाजिक, सार्वजनिक अथवा सामुदायिक कार्यका लागि निःशुल्क रूपमा प्रदान गर्ने कार्यलाई दानसँग सम्बन्धित व्यवस्था गरेको छ। चन्दा सङ्कलन र वितरण भने सम्बन्धित कानुनी प्रावधानअनुसार हुनुपर्छ।
नेपालमा क्यासिनो सञ्चालनलाई पर्यटनसम्बन्धी कानुन तथा क्यासिनोसम्बन्धी नियमावलीमार्फत नियमन गरिन्छ। क्यासिनो व्यवसाय कानुनी रूपमा सञ्चालन हुन सक्ने भए पनि त्यसलाई आपराधिक रकमको स्रोत लुकाउने वा वित्तीय कारोबारलाई वैध देखाउने माध्यमका रूपमा प्रयोग गरिएमा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम उत्पन्न हुन्छ।
चन्दा ऐन, २०३० को दफा ३ अनुसार चन्दा सङ्कलन गर्न नेपाल सरकारको पूर्वस्वीकृति आवश्यक पर्ने व्यवस्था छ। कानुनविपरीत वा करकापमा चन्दा उठाउने व्यक्तिलाई ऐनको दफा १३ अनुसार दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था उल्लेख छ। गैरकानुनी रूपमा सङ्कलन गरिएको चन्दा रकमसमेत सरकारी बाँकीसरह असुल गर्न सकिने प्रावधान छ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ४०६ ले व्यक्तिलाई आफ्नो स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्ति वा सामाजिक तथा धार्मिक संस्थालाई दान वा चन्दाका रूपमा दिन सक्ने व्यवस्था गरेको छ। यद्यपि, दान वा चन्दाको नाममा आपराधिक स्रोतबाट प्राप्त सम्पत्ति लुकाउने, गलत विवरण प्रस्तुत गर्ने वा रकमको वास्तविक प्रयोजन छिपाउने कार्य भएमा त्यसलाई छुट्टै वित्तीय अपराधका रूपमा अनुसन्धान गर्नुपर्ने हुन सक्छ।
चिठ्ठाबाट प्राप्त पुरस्कार तथा अन्य आम्दानीमा लाग्ने करसम्बन्धी व्यवस्था आयकर ऐन, २०५८ मा गरिएको छ। त्यसैले चिठ्ठा सञ्चालन गर्ने संस्था, पुरस्कार प्राप्त गर्ने व्यक्ति र सम्बन्धित वित्तीय कारोबारको वैधानिकता परीक्षण गर्दा करसम्बन्धी दायित्वलाई समेत ध्यान दिनुपर्छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरलाई निषेध गरेको छ। कानुनमा उल्लेखित सर्त तथा अपवादबाहेक जुवा खेल्ने वा खेलाउने कार्यमा संलग्न व्यक्तिलाई कैद र जरिवाना हुन सक्छ। संहितामा उल्लिखित व्यवस्थाअनुसार जुवा खेल्ने वा खेलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। दोहोर्याएर कसुर गरेमा थप सजायको व्यवस्था पनि छ।
यसैगरी, दफा १२५ को उपदफा ६ मा सट्टेबाजीसम्बन्धी कसुरमा बिगो जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था उल्लेख छ। सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि सानो चल सम्पत्ति जित्ने वा गुमाउने गरी जुवा सञ्चालन गर्नसमेत नेपाल सरकारको स्वीकृतिसम्बन्धी कानुनी व्यवस्था लागू हुन्छ।
क्यासिनो सञ्चालनको नियमन पर्यटन ऐन, २०३५ तथा सम्बन्धित क्यासिनो नियमावलीमार्फत गरिन्छ। सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०८० मार्फत पर्यटन ऐनमा क्यासिनो सञ्चालनसम्बन्धी प्रावधान थप तथा संशोधन गरिएको थियो।
चिठ्ठा, जुवा, क्यासिनो र चन्दासम्बन्धी गतिविधिमा गैरकानुनी रकमको प्रयोग भएको आशङ्का देखिएमा विभिन्न सरकारी निकायले आ–आफ्नो कानुनी जिम्मेवारीअनुसार काम गर्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय: क्यासिनो व्यवसायको नियमन, नीतिगत व्यवस्था तथा सम्बन्धित निर्देशन जारी गर्ने जिम्मेवारी।
जिल्ला प्रशासन कार्यालय: प्रचलित कानुनअनुसार चिठ्ठासम्बन्धी अनुमति तथा आफ्नो अधिकारक्षेत्रभित्रका कसुरसम्बन्धी प्रशासनिक र कानुनी प्रक्रिया।
वित्तीय जानकारी इकाई: शङ्कास्पद वित्तीय कारोबारसम्बन्धी प्रतिवेदन प्राप्त गर्ने, विश्लेषण गर्ने र आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा विश्लेषणात्मक सूचना पठाउने जिम्मेवारी।
नेपाल प्रहरी: सम्भावित कसुरको अनुसन्धान तथा प्रमाण सङ्कलन।
सरकारी वकिलको कार्यालय: प्राप्त प्रमाण र कानुनी आधारका आधारमा अभियोजनसम्बन्धी कार्य।
चन्दा वा परोपकारी सहयोगका नाममा रकम सङ्कलन गर्दा निम्न गतिविधि देखिएमा थप परीक्षण आवश्यक हुन सक्छ:
संस्थाको उद्देश्यको तुलनामा कर्मचारी खर्च, पारिश्रमिक वा प्रशासनिक लागत अस्वाभाविक रूपमा बढी हुनु।
अधिकांश चन्दा नगदमा सङ्कलन हुनु र रकमको स्रोत स्पष्ट नहुनु।
चन्दा दिने व्यक्तिको पहिचान नखुल्नु वा बेनामी योगदानको मात्रा अत्यधिक हुनु।
सङ्कलित रकमको ठूलो हिस्सा विदेशमा स्थानान्तरण हुनु वा असम्बन्धित व्यक्तिको खातामा जम्मा हुनु।
चन्दा सङ्कलनबाट प्राप्त रकमको प्रयोग, वितरण र खर्चको विवरण पारदर्शी नहुनु।
वास्तविक लाभग्राही वा संस्थाको स्वामित्व तथा नियन्त्रण कसको हातमा छ भन्ने स्पष्ट नहुनु।
संयुक्त राष्ट्रसङ्घ वा अन्य सम्बन्धित अन्तर्राष्ट्रिय निकायका प्रतिबन्ध सूचीमा रहेका व्यक्ति वा संस्थासँग कारोबार देखिनु।
यस्ता सङ्केत देखिँदैमा सम्बन्धित व्यक्ति वा संस्था स्वतः दोषी ठहरिँदैन। तर रकमको स्रोत, उद्देश्य, लाभग्राही र कारोबारको प्रकृतिबारे थप जाँच गर्नुपर्ने आधार बन्न सक्छन्।
चिठ्ठाको नाममा रकमको स्रोत लुकाउने वा गैरकानुनी रूपमा रकम परिचालन गर्ने प्रयास भएमा निम्न गतिविधि जोखिमका सङ्केत हुन सक्छन्:
चिठ्ठा नपरेको अवस्थामा पनि पुरस्कार परेको घोषणा गर्नु।
एउटै व्यक्ति वा एउटै परिवारका सदस्यले अस्वाभाविक रूपमा धेरै पुरस्कार प्राप्त गर्नु।
पूर्वनियोजित रूपमा निश्चित व्यक्तिलाई पुरस्कार पर्ने व्यवस्था गर्नु।
असामान्य रूपमा धेरै टिकट खरिद वा टिकटको अत्यधिक किनबेच तथा साटासाट हुनु।
पुरस्कार रकमको स्रोत, वितरण प्रक्रिया वा विजेताको पहिचान स्पष्ट नहुनु।
वास्तविक विजेतासँग टिकट खरिद गरेर गैरकानुनी आम्दानीलाई चिठ्ठाको पुरस्कारबाट प्राप्त रकमका रूपमा प्रस्तुत गर्नु।
नक्कली विजेता, आवेदक वा लाभग्राही देखाएर रकम परिचालन गर्नु।
अमेरिकामा लागुऔषध कारोबारबाट गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन चिठ्ठाको पुरस्कार प्रयोग गरिएको एउटा उदाहरणमा अपराधमा संलग्न व्यक्तिले वास्तविक विजेताबाट पुरस्कार परेको टिकट खरिद गरी रकमको स्रोत वैध देखाउने प्रयास गरेको उल्लेख छ। यस्ता गतिविधि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा चिठ्ठाको दुरुपयोग कसरी हुन सक्छ भन्ने उदाहरण हुन्।
क्यासिनो र जुवासम्बन्धी कारोबारमा रकमको वास्तविक स्रोत लुकाउन विभिन्न माध्यम प्रयोग हुन सक्छन्। त्यसैले ग्राहकको पहिचान, रकम जम्मा गर्ने तरिका, कारोबारको आवृत्ति तथा खेलमा वास्तविक रूपमा संलग्न भएको अवस्थाबीच तुलना गर्नु महत्त्वपूर्ण हुन्छ।
शङ्कास्पद मानिन सक्ने केही गतिविधि यस्ता छन्:
ग्राहकको आर्थिक हैसियतसँग मेल नखाने गरी ठूलो रकमको नगद कारोबार हुनु।
क्यासिनो खातामा रकम जम्मा गरेलगत्तै त्यसलाई क्रेडिट वा अन्य वित्तीय दाबीका रूपमा प्रस्तुत गर्नु।
ठूलो रकम बारम्बार नगदमा जम्मा गर्नु।
पर्याप्त खेल नखेले पनि क्यासिनोका चिप्स वा उपकरण खरिद गरी तुरुन्तै साट्नु।
छोटो अवधिमा पटकपटक चिप्स, उपकरण वा क्यासिनो क्रेडिटको किनबेच गर्नु।
तेस्रो पक्षलाई आफ्नो तर्फबाट चिप्स वा क्यासिनोका उपकरण खरिद गर्न लगाउनु।
क्यासिनोका उपहार प्रमाणपत्र वा अन्य वित्तीय साधन बारम्बार खरिद गर्नु।
अरूको खाता प्रयोग गरी चन्दा सङ्कलन वा रकम स्थानान्तरण गर्नु।
बैंक खाता र डिजिटल वालेटबीच अस्वाभाविक रूपमा बारम्बार रकम सार्नु।
क्यासिनोका ग्राहक वा वास्तविक लाभग्राहीको पहिचान स्पष्ट नहुनु।
अन्तर्राष्ट्रिय प्रतिबन्ध सूचीमा रहेका व्यक्तिसँग सम्बन्धित कारोबार देखिनु।
यस्ता कारोबारको मूल्याङ्कन गर्दा ग्राहकको समग्र वित्तीय अवस्था, कारोबारको उद्देश्य र रकमको स्रोतसमेत परीक्षण गर्नुपर्छ। कुनै एक सङ्केतका आधारमा मात्र सम्पत्ति शुद्धीकरण भएको निष्कर्ष निकाल्न मिल्दैन।
चन्दा, चिठ्ठा र क्यासिनोलाई दुरुपयोग गरेर गैरकानुनी रकमको स्रोत लुकाउने प्रयास विभिन्न तरिकाबाट हुन सक्छ।
चन्दामार्फत: गैरनाफामूलक संस्था स्थापना गरी आपराधिक गतिविधिबाट प्राप्त रकमलाई दान वा चन्दाका रूपमा संस्थामा जम्मा गर्ने र त्यसलाई संस्थाको वैध आम्दानीका रूपमा देखाउने प्रयास हुन सक्छ। त्यस्तै, नक्कली रसिद तयार गरी सङ्कलित रकम असम्बन्धित गतिविधिमा खर्च गर्न सकिन्छ।
चिठ्ठामार्फत: नक्कली विजेता वा लाभग्राही देखाएर रकम वितरण गर्ने, वास्तविक विजेताबाट पुरस्कार परेको टिकट खरिद गर्ने वा चिठ्ठाको नतिजामा अनियमितता गरी गैरकानुनी रकमलाई पुरस्कारबाट प्राप्त आम्दानीका रूपमा प्रस्तुत गर्ने प्रयास हुन सक्छ।
क्यासिनोमार्फत: गैरकानुनी रकमबाट चिप्स वा अन्य खेल उपकरण खरिद गर्ने, तिनलाई नगद वा अन्य वित्तीय साधनमा रूपान्तरण गर्ने अथवा क्यासिनोका ग्राहकसँगको कारोबार प्रयोग गरी रकमको वास्तविक स्रोत लुकाउने प्रयास हुन सक्छ। वास्तविक विजेता वा खेलाडीसँग ठूलो रकमको कारोबार गरेर त्यसलाई वैध आम्दानीको आवरण दिने जोखिमसमेत रहन्छ।
सामाजिक सञ्जालमार्फत चन्दा सङ्कलनको नाममा रकम दुरुपयोग हुन सक्ने अवस्थालाई नेपालसँग सम्बन्धित एउटा उदाहरणबाट बुझ्न सकिन्छ। उपलब्ध विवरणअनुसार, एक चर्चित युट्युबर तथा टिकटक प्रयोगकर्ताले एक व्यक्तिको दुःख देखाउँदै सहयोगको अपिल गरेपछि स्वदेश तथा विदेशमा रहेका नेपालीबाट साना–साना रकम गरी करिब एक करोड ७५ लाख रुपैयाँ सङ्कलन गरेका थिए।
सङ्कलित रकममध्ये करिब ४५ लाख रुपैयाँ खर्च भएको विवरणमा ठूलो हिस्सा सुन, गरगहना तथा व्यक्तिगत खर्चमा प्रयोग भएको उल्लेख छ। अपिलमा उल्लेखित उद्देश्यअनुसार रकम खर्च नभएको अवस्थामा करिब एक करोड ३० लाख रुपैयाँ बाँकी रहेको बताइएको छ। थप रकम सङ्कलन गर्न साथीको बैंक खातालाई माध्यमका रूपमा प्रयोग गरिएको विवरणसमेत उल्लेख छ।
यस प्रकारको घटनामा चन्दा सङ्कलनको वास्तविक उद्देश्य, प्राप्त रकमको स्रोत, खर्चको प्रमाण, लाभग्राहीको सहमति तथा बाँकी रकमको अवस्थाबारे अनुसन्धान आवश्यक हुन्छ। तर, सम्बन्धित निकायको अनुसन्धान वा न्यायिक निर्णयबाट पुष्टि नभएसम्म यस्ता विवरणलाई आरोप वा प्रारम्भिक उदाहरणका रूपमा मात्र लिनुपर्छ।
चिठ्ठा, जुवा, क्यासिनो तथा चन्दा आफैँमा एउटै प्रकृतिका गतिविधि होइनन्। तिनको कानुनी हैसियत, नियमन र सञ्चालनका सर्त फरक छन्। तर, कुनै पनि माध्यम प्रयोग गरेर आपराधिक आम्दानीको स्रोत लुकाउने, झूटा लाभग्राही सिर्जना गर्ने वा वित्तीय कारोबारलाई वैध देखाउने प्रयास भएमा त्यसको अनुसन्धान आवश्यक हुन्छ।
यसका लागि चन्दा सङ्कलनको स्पष्ट अभिलेख, वास्तविक लाभग्राहीको पहिचान, पारदर्शी खर्च विवरण, चिठ्ठाको विश्वसनीय पुरस्कार वितरण प्रणाली तथा क्यासिनोको ग्राहक पहिचान र वित्तीय कारोबारको प्रभावकारी अनुगमन महत्त्वपूर्ण हुन्छ। साथै, बैंक तथा वित्तीय संस्था र सम्बन्धित नियामक निकायले शङ्कास्पद कारोबारका सङ्केतलाई जोखिमका आधारमा मूल्याङ्कन गरी आवश्यक प्रतिवेदन तथा अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे