
काठमाडौँ । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन स्वास्थ्य परीक्षण गराउँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका कुनै पनि इजाजतप्राप्त चिकित्सकले दिएको स्वास्थ्य प्रमाणपत्र मान्य हुने भएको छ।
यातायात व्यवस्था विभागले सातै प्रदेशका यातायात हेर्ने मन्त्रालयलाई यस व्यवस्था लागू गर्न अनुरोध गरेको छ। विभागका अनुसार अहिलेको स्वास्थ्य परीक्षण प्रक्रियाका कारण सेवाग्राहीले अनावश्यक भीड, अतिरिक्त खर्च र सीमित व्यक्तिको संलग्नताका कारण सिण्डिकेटजस्ता समस्या भोग्दै आएका छन्।
नयाँ व्यवस्थाले स्वास्थ्य परीक्षणलाई अझ सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विश्वास विभागको छ। यसबाट लाइसेन्स बनाउन आउने सेवाग्राहीले आफूलाई सहज पर्ने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर प्रमाणपत्र पेश गर्न सक्नेछन्।
यससँगै विभागले नेपाल मेडिकल काउन्सिलसँग दर्ता भएका सबै इजाजतप्राप्त चिकित्सकको विवरण पनि माग गरेको छ। यसले देशभर एउटै मापदण्ड लागू गर्न र स्वास्थ्य परीक्षण प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे