
काठमाडौं । बंगालको खाडी र अन्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ। मौसमविद्का अनुसार यो प्रणाली आगामी दिनमा डिप्रेसन हुँदै गहिरो डिप्रेसनमा परिणत हुन सक्छ। यसको असर नेपालमा कति पर्छ भन्ने अहिले नै निश्चित भइसकेको छैन।
मौसम पूर्वानुमान महाशाखाले प्रणालीको निरन्तर निगरानी भइरहेको जनाएको छ। केही मौसम मोडलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न स्थानमा वर्षा बढ्न सक्ने संकेत गरेका छन्। कतिपय मोडलले केही क्षेत्रमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरेका छन्। एक मोडलमा अधिकतम करिब ७४१ मिलिमिटरसम्म वर्षाको सम्भावना देखिए पनि यसको अर्थ नेपालभर त्यति नै पानी पर्ने होइन।
मौसमविद् डा. विनोद पोखरेलले ठूलो वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पूर्वतयारी गर्न सुझाव दिनुभएको छ। मौसमविद् रोजन लामिछानेले पनि किसानलाई धानबाली भित्र्याउने काममा सावधानी अपनाउन आग्रह गर्नुभएको छ। प्रणालीको दिशा र शक्तिमा हुने परिवर्तनसँगै प्रभावको क्षेत्र पनि बदलिन सक्ने भएकाले अहिले नै सतर्क रहन आवश्यक छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे