
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै दिएको एउटा अभिव्यक्तिलाई लिएर राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले सामाजिक सञ्जाल एक्समार्फत टिप्पणी गरेका छन्। माधव नेपालले ‘स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। सरकारले अपहेलना गर्छ, वास्ता गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो’ भन्ने आशयको कुरा बताएका थिए। यही भनाइलाई आधार बनाएर मिश्रले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन्।
मिश्रले लेखेका छन् कि माधव नेपालको भनाइ सुन्दा उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सम्झना आएको छ। उनका अनुसार, एक समय राजा ज्ञानेन्द्र नेपालको इतिहासमै सबैभन्दा धेरै आलोचना र अपमान खेप्ने व्यक्तिमध्ये एक थिए। राजतन्त्र अन्त्य भएपछि उनीसँग अन्य देशमा गएर बस्ने अवसर पनि थियो। तर, उनले देश नछोडी नेपालमै बस्ने निर्णय गरेका थिए।
यही प्रसङ्ग जोड्दै मिश्रले यदि अपमान सहन नसकेर विदेश जानु नै स्वाभिमानको चिन्ह हो भने राजा ज्ञानेन्द्रलाई स्वाभिमानी भन्न नसकिने तर्क गरेका छन्। बरु, उनले व्यङ्ग्य गर्दै स्वाभिमानको पाठ माधव नेपालबाट सिक्नुपर्ने र राजा ज्ञानेन्द्रबाट होइन भन्ने टिप्पणी गरेका छन्।
मिश्रले अन्त्यमा आफ्नो धारणा मात्र राखेको उल्लेख गर्दै बाँकी निर्णय र मूल्याङ्कन आम नागरिकको जिम्मामा छाडेका छन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे