
काठमाडौं । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) सडक सुधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ६९.२ प्रतिशत पुगेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढदेखि रुपन्देहीको बुटवलसम्मको ११३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७५/७६ मा आयोजना सुरु गरिएको थियो।
आयोजनाअन्तर्गत ११३ किलोमिटर सडक विस्तारसँगै ४६२ वटा कल्भर्ट, ४३ वटा साना पुल र २१ वटा प्रमुख पुल निर्माण गर्ने लक्ष्य राखिएको छ। सुरुमा आर्थिक वर्ष २०७९/८० भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिए पनि निर्माणमा भएको ढिलाइका कारण संशोधित कार्यतालिकाअनुसार आयोजना सम्पन्न गर्ने अवधि थप गरिएको छ। त्रुटि सच्याउने अवधिसमेत समेटेर आर्थिक वर्ष २०८६/८७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाको प्रारम्भिक सम्झौता रकम १६ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा संशोधित सम्झौताअनुसार लागत १७ अर्ब २ करोड रुपैयाँ कायम गरिएको छ। हालसम्म आयोजनामा १२ अर्ब ८५ करोड रुपैयाँ खर्च भइसकेको छ।
आयोजनाको कुल ११३ किलोमिटरमध्ये आर्थिक वर्ष २०८१/८२ सम्म ६१.६ किलोमिटर सडक चार लेनमा र ३१.५३ किलोमिटर सडक दुई लेनमा कालोपत्रे सम्पन्न भएको छ। यस अवधिसम्म १६ वटा प्रमुख पुल र ४० वटा साना पुल निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।
निर्माणाधीन सडकखण्डको बाँकी काम तथा पुल र अन्य संरचना निर्माणलाई तोकिएको संशोधित कार्यतालिकाअनुसार अघि बढाई आयोजना समयमै सम्पन्न गर्नुपर्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे