
काठमाडौँ । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायत वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा बिहान १०ः२५ बजे सुरुङमार्ग उद्घाटन गर्ने तयारी गरिएको थियो। उद्घाटनपछि निर्माण पक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको थियो। कार्यक्रममा मन्त्री लम्साल, जापानी राजदूत तथा जाइकाका अध्यक्षले सुरुङमार्गभित्र सवारीसाधन चलाएर औपचारिक रूपमा आवागमन शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
सडक विभागका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सवारीसाधनलाई सुरुङमार्ग प्रवेश दिइनेछ। त्यसपछि केही दिन सुरुङमार्गको पूर्ण परीक्षण गरिनेछ। सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन तथा अन्य प्राविधिक पक्षको परीक्षण सम्पन्न भएपछि क्रमशः अन्य वर्गका सवारीसाधनलाई समेत सञ्चालनको अनुमति दिइनेछ। परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने व्यवस्था गरिएको छ।
कुल २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमार्ग सञ्चालनमा आएपछि सवारीसाधनले निश्चित शुल्क तिर्नुपर्नेछ। सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस तथा टिपरले काठमाडौँतर्फ आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बुझाउनुपर्नेछ। यस्तै, बस तथा ट्रकले काठमाडौँ आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्वलनशील पदार्थ तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई समेत सुरुङमार्गभित्र प्रवेश गर्न दिइने छैन।
आयोजनाअन्तर्गत मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुईवटा सुरुङ निर्माण भएका छन्। मुख्य सुरुङबाट नियमित सवारीसाधन सञ्चालन हुनेछन् भने आपत्कालीन अवस्थामा उद्धार तथा सुरक्षा प्रयोजनका लागि उद्धार सुरुङ प्रयोग गरिनेछ। सुरुङमार्ग निर्माणको जिम्मेवारी जापानको हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो।
आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा सवारीसाधन तथा यात्रुको सुरक्षा र सहज आवागमनका लागि दमकल, आकस्मिक उद्धार प्रणाली, सिसीटिभी क्यामेरा, सञ्चार तथा सुरक्षा संयन्त्र जडान गरिएको छ। सुरुङभित्र अक्सिजनको निरन्तर प्रवाहसहित आवश्यक अन्य अत्यावश्यक सेवाको समेत व्यवस्था गरिएको बताइएको छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुङ्गिन्छ। सुरुङमार्ग सञ्चालनमा आएपछि हाल सञ्चालनमा रहेको राजमार्गको जाम, उकालो तथा घुमाउरो सडकका कारण हुने ढिलाइ कम हुने र यात्रु तथा सवारीसाधनको झन्डै एक घन्टा समय बचत हुने अपेक्षा गरिएको छ।
सुरुङमार्ग निर्माणमा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि व्यवसायी छनोट गरी परिचालन गरिसकिएको छ भने सुरक्षाकर्मी तथा प्राविधिक कर्मचारीबाट नियमित अनुगमन र निरीक्षण भइरहेको बताइएको छ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क विद्युतीय माध्यममार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। निर्माण सुरु गर्दा ४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ महामारीलगायत विभिन्न जटिलताका कारण निर्माण अवधि लम्बिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे