
काठमाडौं । नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) का लागि स्वीकृत हुने परियोजनाको संख्या निरन्तर बढ्दै गए पनि स्वीकृत लगानीको तुलनामा वास्तविक लगानी भित्रिने दर भने निकै कम रहेको देखिएको छ। स्वीकृत प्रतिबद्धता र वास्तविक लगानीबीचको अन्तर घटाउनु सरकारका लागि महत्वपूर्ण नीतिगत प्राथमिकताको विषय बनेको छ।
उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०५२/५३ देखि २०८१/८२ सम्म स्वीकृत कुल विदेशी प्रत्यक्ष लगानीमध्ये वास्तविक रूपमा भित्रिएको खुद विदेशी लगानी करिब २९.६ प्रतिशत मात्रै रहेको छ। यसले नेपालमा विदेशी लगानी स्वीकृत गर्ने प्रक्रिया र स्वीकृत लगानीलाई वास्तविक लगानीमा रूपान्तरण गर्ने अवस्थाबीच ठूलो अन्तर रहेको देखाउँछ।
स्वीकृत विदेशी लगानीले सम्बन्धित लगानीकर्ताले नेपालमा लगानी गर्ने योजना वा प्रतिबद्धतालाई जनाउने भए पनि स्वीकृत भएको सम्पूर्ण रकम अनिवार्य रूपमा तत्कालै वा पूर्ण रूपमा भित्रिने हुँदैन। त्यसैले स्वीकृत लगानी र वास्तविक रूपमा भित्रिएको रकमबीच अन्तर देखिनुका विभिन्न कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्वीकृति प्राप्त गरेपछि वास्तविक रूपमा पूँजी भित्रिन केही समय लाग्ने भएकाले पनि यस्तो अन्तर देखिने गरेको छ। विशेषगरी लामो समय लाग्ने प्रकृतिका परियोजनामा स्वीकृत लगानी एकैपटक भित्रिनुको सट्टा परियोजनाको प्रगति र आवश्यकताअनुसार विभिन्न वर्षमा चरणबद्ध रूपमा लगानी हुने गर्छ।
यसका अतिरिक्त परियोजना कार्यान्वयनमा हुने ढिलाइ तथा लगानीकर्ताको प्रतिबद्धता तत्काल कार्यान्वयनमा नआउनुले पनि स्वीकृत र वास्तविक लगानीबीचको दूरी बढाउने गरेको छ। यी विभिन्न कारणले गर्दा नेपालमा स्वीकृत विदेशी प्रत्यक्ष लगानीको तुलनामा वास्तविक खुद लगानी प्रवाह कम देखिएको हो।
प्रतिवेदनले स्वीकृत विदेशी लगानीलाई वास्तविक लगानीमा रूपान्तरण गर्ने वातावरण सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ। स्वीकृत प्रतिबद्धता र वास्तविक लगानीबीचको अन्तर घटाउन सके नेपालमा विदेशी पूँजी भित्र्याउने तथा त्यसबाट आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यलाई थप प्रभावकारी बनाउन सकिने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे