
काठमाडौं । रसुवामा आएको बाढीपछि खोज तथा उद्धार अभियानलाई तीव्रता दिइएको छ। नेपाली सेनाले बाढी प्रभावित टिमुरे तथा मैलुङ क्षेत्रमा फसेका २० विदेशी नागरिकसहित १२५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको जनाएको छ।
नेपाली सेनाले भदौ ११ गते बिहान १०ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज बिहानदेखि १०ः३० बजेसम्म प्रभावित क्षेत्रमा उद्धार अभियान सञ्चालन गरिएको हो। बाढीका कारण जोखिममा परेका तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिलाई प्राथमिकताका आधारमा हवाई माध्यमबाट सुरक्षित स्थानमा ल्याइएको सेनाले जनाएको छ।
उद्धारसँगै सेनाले त्रिशूली क्षेत्रमा विशेषज्ञ चिकित्सक अधिकृतसहितको आपत्कालीन उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। उक्त उपचार केन्द्रबाट हालसम्म ६४ जना घाइतेलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका तथा घाइतेको खोज, उद्धार र उपचारको काम निरन्तर जारी रहेको छ। नेपाली सेनाका अनुसार स्थल तथा हवाई दुवै माध्यमबाट उद्धार कार्य सञ्चालन भइरहेको छ भने सम्बन्धित निकायसँगको समन्वयमा आपत्कालीन उपचार, राहत सामग्री वितरण तथा अन्य आवश्यक सहयोगका कार्यसमेत अघि बढाइएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना र सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको सेनाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे