
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्यको सहभागिता रहेको पार्टीले जनाएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको बैठकमा अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको एमाले सचिव शेरधन राईले जानकारी दिएका छन्।
राईका अनुसार बैठक सुरु भएपछि हाजिरीमार्फत केन्द्रीय सदस्यहरूको यकिन उपस्थिति विवरण सार्वजनिक गरिनेछ। एमालेको केन्द्रीय कमिटीमा ३०१ सदस्य रहेको पार्टीले जनाएको छ।
करिब छ महिनापछि केन्द्रीय कमिटी बैठक बस्न लागेकाले बैठकमा नेताहरूको सहभागिता उत्साहजनक रहेको राईले बताए। बैठकमा निर्वाचन समीक्षा, पार्टी पुनर्गठन तथा आगामी राजनीतिक र सांगठनिक विषयमा छलफल हुने बताइएको छ।
एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठन र नेतृत्वसम्बन्धी विषयमा विभिन्न धारणा सार्वजनिक हुँदै आएका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनलाई पार्टी सचिवालयले स्वीकार गरी केन्द्रीय कमिटीमा छलफलका लागि पठाएको छ। उक्त प्रतिवेदनमा विवादित नेतृत्वसम्बन्धी विषयहरू हटाइएको एमाले नेताहरूले बताएका छन्।
यसअघि कार्यदलमा नेतृत्व पुनर्गठनसम्बन्धी विषयलाई लिएर फरक–फरक धारणा सहितका प्रतिवेदन तयार भएका थिए। तर, पछिल्लो चरणमा ती विषयलाई समेटेर साझा प्रतिवेदन तयार गर्ने क्रममा नेतृत्वसम्बन्धी विवादित अंश हटाइएको बताइएको छ।
यद्यपि, नेतृत्व पुनर्गठनको विषय पार्टीभित्र छलफलबाट पूर्णरूपमा बाहिरिएको हो वा होइन भन्नेमा फरक धारणा देखिएका छन्। केही नेताहरूले केन्द्रीय कमिटी बैठकमा पार्टी नीति तथा नेतृत्व पुनर्गठनको विषय उठाउन सक्ने बताउँदै आएका छन्।
करिब छ महिनापछि बसिरहेको केन्द्रीय कमिटी बैठकलाई एमालेको आगामी सांगठनिक दिशा र निर्वाचन समीक्षाका दृष्टिले महत्वपूर्ण मानिएको छ। बैठकले प्रस्तुत हुने प्रतिवेदन तथा नेताहरूबाट उठाइने विषयमा छलफल गरी पार्टीको आगामी कार्यदिशाबारे निर्णय गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे