
काठमाडौँ । सरकारले विद्युत् महसुलमा थपिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। चालु आर्थिक वर्षदेखि लागू गरिएको यो व्यवस्था करिब दुई महिनामै हटाउने तयारी भएको हो।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भएको छलफलमा विद्युत्मा लगाइएको भ्याट हटाउने विषयमा सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ। अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि भ्याट हटाउने प्रक्रिया सुरु हुनेछ।
हाल घरायसी ग्राहकले महिनामा ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्दा ५ प्रतिशत भ्याट तिर्नुपर्छ। त्यस्तै, उद्योग, व्यवसाय र अन्य गैरघरायसी ग्राहकलाई १३ प्रतिशत भ्याट लाग्दै आएको छ।
विद्युत्मा भ्याट थपिँदा सर्वसाधारणको बिल बढ्नुका साथै उद्योगको उत्पादन खर्च पनि बढ्ने भन्दै यसको विरोध हुँदै आएको थियो। भ्याट हटेपछि अहिलेसम्म उठाइएको रकम आगामी विद्युत् बिलमा घटाएर मिलाउने तयारी गरिएको छ। यसका लागि प्राधिकरणले बिलिङ प्रणालीमा आवश्यक परिवर्तन गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे