
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना ड्रोन नउडाउन आग्रह गरेको छ। खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका हेलिकप्टरको हवाई सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै प्राधिकरणले अनधिकृत ड्रोन उडानमा रोक लगाएको हो।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लामा स्थानीय प्रशासनको अनुमति नलिई ड्रोन उडाउने क्रम देखिएकाले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको जनाएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय तथा निजी क्षेत्रका हेलिकप्टर खोज तथा उद्धारका लागि निरन्तर परिचालन भइरहेका छन्। यस्तो अवस्थामा अनुमति नलिई ड्रोन उडाउँदा उद्धारमा खटिएका हेलिकप्टरसँग ठोक्किन सक्ने तथा अन्य प्रकारको हवाई दुर्घटनाको जोखिम बढ्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन सञ्चालन गर्न पाइन्छ।
अनुमति नलिई ड्रोन उडाएको वा खोज तथा उद्धार कार्यमा अवरोध सिर्जना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ। उपसचिव रामबहादुर केसीद्वारा जारी सूचनामार्फत प्रभावित क्षेत्रमा ड्रोन सञ्चालनसम्बन्धी नियमको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे