
काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा ठूलो हिमपहिरो जाँदा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्। बिहीबार बिहान करिब ९:२० बजे हिमपहिरो गएको बेला टोली शिखरतर्फ अघि बढिरहेको थियो। त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन टोलीमा पाँच नेपालीसहित पाकिस्तान, अमेरिका, चीन, ओमान र अन्य एक विदेशी आरोही रहेका छन्। उद्धारका लागि पाकिस्तान सरकार, सेना र सम्बन्धित निकायले समन्वय गरिरहेका छन्। मौसम अनुकूल भए शुक्रबार हेलिकोप्टरमार्फत उद्धार टोली घटनास्थल पठाइने तयारी गरिएको छ।
घटनाबारे अर्को चिन्ताको विषय भनेको हिमपहिरो बिहानै गए पनि यसको जानकारी करिब १३ घण्टापछि मात्रै सार्वजनिक हुनु हो। समयमै खबर पुगेको भए दिनमै उद्धार अभियान सुरु गर्न सकिने बताइएको छ।
ट्र्याकिङ उपकरणबाट प्राप्त विवरणअनुसार हिमपहिरोपछि आरोहीहरू सयौँ मिटर तल खसेको संकेत देखिएको छ। उनीहरूको अवस्था अझै खुल्न सकेको छैन। निर्मल पुर्जा यस आरोहणमार्फत अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल दुईपटक आरोहण गर्ने ऐतिहासिक कीर्तिमान बनाउने लक्ष्यमा थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे