
काठमाडौँ । आगामी तीन दिन नेपालका प्रमुख नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, नारायणी, कर्णाली, महाकालीलगायत नदीमा पानीको मात्रा बढ्ने अनुमान गरिएको छ। भोटेकोशी र त्रिशूलीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन भनिएको छ।
बुधबारदेखि शुक्रबारसम्म धेरै नदीमा बहाव बढ्ने र त्रिशूली तथा वेत्रावतीमा आज र भोलि जोखिम बढी रहने पूर्वानुमान गरिएको छ। साना नदी र खोलामा अचानक बाढी आउन सक्ने सम्भावना पनि छ। विशेषगरी पूर्वदेखि पश्चिमसम्मका विभिन्न पहाडी तथा आसपासका जिल्लामा यस्तो जोखिम देखिएको छ।
महाशाखाले नदी तथा खोलाको किनारमा बस्ने नागरिकलाई सचेत रहन, जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। लगातार वर्षा भएमा तटीय क्षेत्रमा डुबानको जोखिमसमेत बढ्न सक्ने बताइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे