
काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा चिठ्ठा परेका एक व्यक्तिले पुरस्कार रकम नपाउने भएका छन्।
भदौ १ देखि १५ गतेसम्म गरिएको कारोबार तथा अनलाइन भुक्तानीका आधारमा कुपन नम्बर ०१४६१८४७७६२० भएका व्यक्तिलाई १ लाख ३३ हजार ३३४ रुपैयाँको चिठ्ठा परेको थियो। तर, उक्त कुपन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ हजार रुपैयाँ दान गरेको आधारमा बनेको थियो।
आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममा वस्तु वा सेवा खरिद गर्ने ग्राहक मात्र सहभागी हुन पाउँछन्। दान गरेको रकमलाई खरिदबापतको कारोबार मानिँदैन। त्यसैले चिठ्ठा परे पनि ती व्यक्तिले पुरस्कार रकम पाउने छैनन्।
विभागले यसबारे औपचारिक सूचना भने जारी गरिसकेको छैन। सरकारी निकाय वा सार्वजनिक संस्थाका नाममा जारी हुने बीजक पनि कार्यक्रममा योग्य नहुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे