
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट व्यवस्थापन तथा खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर समन्वय र छलफल अघि बढाएका छन्।
यसक्रममा प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका छन्।
भेटका क्रममा सुरक्षा निकायबाट प्राप्त पछिल्लो विवरणका आधारमा प्रभावित क्षेत्रको अवस्था, उद्धार कार्यमा भइरहेको प्रगति तथा राहत व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्रीले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र आगामी कार्यदिशाबारे समेत जानकारी लिएका छन्।
प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढीपछिको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ। त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत आजै छलफल गरी खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन र राहत परिचालनको पछिल्लो अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सुरक्षा संयन्त्रको परिचालन र अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्रीले सुरक्षा निकायको नेतृत्वसँग प्रत्यक्ष समन्वय गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे