
काठमाडौँ । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले उनको पत्रिकाको कार्यालयमा छापा मारेको छ। प्रहरीको टोलीले बिहीबार बिहान ललितपुरस्थित जनआस्था साप्ताहिकको कार्यालयमा पुगेर खानतलासी गरेको हो। कार्यालयमा केही महत्वपूर्ण कागजात वा प्रमाण हुन सक्ने भएकाले छापा मारिएको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले बुधबार राति श्रेष्ठलाई ललितपुरस्थित उनको निवास नजिकबाट पक्राउ गरेको थियो। व्यक्तिगत गोपनीयता हननसम्बन्धी उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ गर्नुअघि प्रहरीले अदालतबाट अनुमति लिएर पक्राउ पुर्जीसमेत लिएको थियो।
श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्। श्रेष्ठमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन भइरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ। ती युवतीले आफ्नो व्यक्तिगत गोपनीयता उल्लङ्घन भएको भन्दै प्रहरीमा उजुरी दिएपछि श्रेष्ठ पक्राउ परेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे