
काठमाडौं। संसदीय सुनुवाइ समितिले साउदी अरेबिया र मलेसियाका लागि प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। समितिको बुधबार बसेको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।
प्रस्तावित राजदूतहरूको योग्यता, नैतिक आचरण तथा आर्थिक कारोबारसम्बन्धी विषयमा प्राप्त उजुरी र सुनुवाइका क्रममा दिइएका जवाफको मूल्यांकनपछि समितिले दुवैको नाम अस्वीकृत गरेको जनाइएको छ।
समितिले सुनारको उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न उठाउँदै उनको नाम अस्वीकृत गरेको हो। उनीविरुद्ध महिला हिंसा, धम्की तथा आर्थिक अनियमिततासम्बन्धी गम्भीर आरोपसहित उजुरी परेको थियो। ती उजुरीका सम्बन्धमा अडिओ तथा भिडिओ सामग्रीसमेत समितिसमक्ष प्रस्तुत गरिएको थियो।
सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नमा सुनारले दिएको स्पष्टीकरण सन्तोषजनक नभएको तथा प्रस्तुत सामग्रीका आधारमा राजदूत पदका लागि आवश्यक उच्च नैतिक चरित्र पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको जनाइएको छ।
त्यस्तै, मलेसियाका लागि प्रस्तावित खरेलमाथि वैदेशिक रोजगार व्यवसायीसँग आर्थिक लेनदेन गरेको, विवादास्पद सवारीसाधन प्रयोग गरेको तथा विभिन्न संस्थासँग सम्बन्धित आर्थिक अनियमिततामा संलग्न रहेको आरोप उठेको थियो।
समितिले खरेलविरुद्ध उठेका आर्थिक अपचलन तथा सम्भावित स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्नलाई आधार बनाउँदै उनको नामसमेत अस्वीकृत गरेको हो। यसअघि सुनुवाइका क्रममा खरेलले आफूमाथि लगाइएका आरोप तथ्यहीन र प्रमाणविहीन भएको दाबी गर्दै आर्थिक अनियमिततामा आफ्नो संलग्नता नरहेको बताएका थिए।
बैठकमा दुवै प्रस्तावित राजदूतलाई आफ्नो नाम फिर्ता लिने अवसर दिइएको भए पनि उनीहरूले त्यसलाई स्वीकार नगरेको जनाइएको छ। त्यसपछि समितिको १५ सदस्यीय पूर्ण बैठकले दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको हो।
प्रस्तावित राजदूतहरूले संसदीय सुनुवाइअघि नाम फिर्ता लिने अभ्यास रहे पनि समितिबाटै दुई राजदूतको नाम अस्वीकृत भएको घटनालाई नेपालको संसदीय अभ्यासमा पहिलो भएको बताइएको छ।
यसैबीच, समितिले विभिन्न १० मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा र बेलायतका लागि गौरव शम्शेर जबराको नाम अनुमोदन भएको हो।
त्यसैगरी, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि मञ्चलाकुमारी झाको नाम पनि समितिबाट अनुमोदन भएको छ।
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको सुनुवाइसम्बन्धी निर्णय भने समितिले स्थगित गरेको छ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाको सम्बन्धमा थप तथ्य तथा प्रमाण आवश्यक देखिएकाले परराष्ट्र मन्त्रालयसँग विवरण माग गरिएको छ।
विशेषगरी स्थानीय तहसँग उनको संलग्नतासम्बन्धी विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले प्राप्त विवरण अध्ययन गरेपछि मात्रै निर्णय गर्ने जनाएको छ।
यससँगै सरकारले सिफारिस गरेका १३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन भएको छ भने दुई जनाको अस्वीकृत र एक जनाको निर्णय स्थगित भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे